News Griha :: न्यूजगृह
दसैँ अवधिमा यस्तो छ मौसम

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।

उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमीनवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताए। 

मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ।

यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौं उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिसकेको छ। महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भूभागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ। हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव बाँकी छ। 

नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १७:४५
Weather Update