News Griha :: न्यूजगृह
धवलागिरिमा ५ जना आरोहीको मृत्यु
धवलागिरी हिमाल । फाइल तस्बिर।

काठमाडौं— धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ। आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए।

‘आफूहरू फर्कने निर्णयमा पुगेको जानकारी उनीहरूले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने। तर, रातको ११ बजेपछि उनीहरूसँगको सम्पर्क टुटेको थियो। सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीलाई प्राणविहीन अवस्थामा फेला पारिएको हो।

उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले जानकारी दिए। यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए। त्यसमध्ये दुई समूहमा ७–७ जना आरोही आरोहणमा लागेका थिए। त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो। बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए।

बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए। आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको मृत्यु भएको हो।

प्रतिकुल मौसमका कारण उनीहरूलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ। आईएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:१७
Weather Update