कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

कञ्चनपुर— कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलौरी–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको मृत्यु भएको सवडिभिजन वन कार्यालय कुण्डाले जनाएको छ।
वन अधिकृत दिनेश यादवका अनुसार रातको समयमा एक गाउँबाट अर्को गाउँमा जाने क्रममा हात्तीले चौधरीलाई आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार मध्यरातमा सखिया नृत्य हेरेर मोटरसाइकलमा घर फर्किंदै गरेका तीन युवाहरुमध्ये उमेशलाई पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो। मोटरसाइकलमा सवार उनका साथीहरु रोशन चौधरी र नवीन चौधरीले भागेर ज्यान जोगाए।
केही दिनअघि लालझाडी गाउँपालिका–४ गाँडा जाँईमा उखुबारीमा पसेका हात्तीले आक्रमण गरेर एक जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ ०९:०८