News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना?
पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका–१ र ११ जोड्ने हेंवा खोलाको पुल बाढीले बगाएपछि निर्माण गरिएको अस्थायी फड्केमार्फत खोला पार गर्दै यात्रु। यो सडकले फिदिम नगरपालिकाका–१० देखि १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसँग जोडेको छ। तस्बिरः रासस

काठमाडौं— आइतबार राति १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ। बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज जडान सुरु भएको छ।’

प्रधानमन्त्रीको स्टाटस आउनासाथ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले स्क्रिन सटसहित प्रतिवाद गरे, ‘प्रधानमन्त्रीज्यूलाई कसले गलत सूचना दिन्छ? हेंवा खोलामा बेलिब्रिज मर्मत गरेर सवारी साधन सञ्चालन गरिएको होइन फड्के मात्र बनेको हो। बेलिब्रिज राख्न त महिनौँ लाग्छ। बगाइसकेको बेलिब्रिजको मर्मत हुने कुरै भएन।’ 

आङ्बो सँगै सयौंले प्रधानमन्त्री ओलीको स्टाटसको आलोचना सुरु गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुकमा लेखिएको स्टाटस १२ मिनेटपछि सम्पादन गरियो। सम्पादित स्टाटसमा हेंवा खोलामा बाढीले बगाएको पुल मर्मत गरी यातायात सञ्चालन सुरु गरिएको उल्लेख भयो। त्यो सूचना पनि सही थिएन। पुनः आलोचना गर्नेहरू थपिँदै गए।

दोस्रो पटक स्टाटस सम्पादन भयो। जहाँ हेंवा र सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको उल्लेख थियो। प्रधानमन्त्री तेस्रोपटक पनि चिप्लिए, स्टाटसमा लेखिए जस्तो हेवाखोलामा बेलिब्रिज जडान सुरु भएको थिएन र छैन पनि। चौथो पटक पुनः स्टाटस सम्पादन गरियो जहाँ पाँचथर ताप्लेजुङ जोड्ने हेंवा खोलामा फड्के बिछ्‌याउने काम सकिएको उल्लेख छ।

प्रधानमन्त्रीको फेसबुकमा चौथो पटक सम्पादन गरेर लेखिए अनुसारको फड्के भने असोज १८ गते निर्माण सकेर सञ्चालनमा आएको हो। तर त्यहाँ लेखिए जस्तो हेंवा खोलाले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना जोड्दैन यो खोलो पाँचथरको फिदिम–४ र हिलिहाङ–७ लाई सिमाना छुट्याएर बगेको छ। देशका कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिको फेसबुकमा पटक पटक सम्पादन गरिए जस्तो बेलिब्रिज निर्माण, जडान वा बाढीले बगाएको पुल मर्मत भएको छैन। गत वर्ष जडान गरिएको बेलिब्रिज बाढीले नामोनिसान नरहने गरी बगाएको छ। यहाँ तत्काल पुल वा बेलिब्रिज बन्ने सम्भावना छैन।

विपद् भएको स्थानको वस्तुगत अवस्था नै नबुझी सरकारी निकाय र पार्टी पङ्क्तिबाट गलत रिर्पोटिङ हुँदा प्रधानमन्त्री स्वयं सही सूचना दिन चुकेको देखिन्छ। भौतिक पूर्वाधार तथा यातायात वा रक्षा मन्त्रालयको स्रोतबाट आएको सूचना भेरिफाइ नगरी पोस्ट गर्दा यस्तो त्रुटि भएको प्रधानमन्त्री सचिवालयको स्रोत बनाँउछ। एमालेका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अइन्द्र सुन्दर नेम्वाङले प्रधानमन्त्रीबाट यस्तो त्रुटि नभएको दाबी गरे।

‘पछिल्लो पटक जुन सामग्री पोस्ट भएको हो त्यही सत्य हो मैले पनि उहाँको पोस्ट सेयर गरेको छु,’ नेम्वाङले भने। बाढीले बेलिब्रिज बगाएको ९ दिन बित्दासम्म हेंवा खोलामा पुल र बेलिब्रिज त के चार पाङ्ग्रे साधन आउजाउ गर्न मिल्ने डाइभर्सनसम्म गरिएको छैन। पुल बगेपछि नेपाली सेनाले हेंवा खोलामा फड्के निर्माण गरेको छ । असोज १८ गतेदेखि यही फड्केबाट मानिस र मोटसाइकल आउजाउ गरिरहेका छन्।

सडक डिभिजन कार्यालय इलामले असोज २० गते भित्रै डाइभर्सन गर्ने काम सकेर हेंवा पारीको पाँचथरसँगै ताप्लेजुङसम्मको यातायात खुलाउने बताएपनि यो समाचार तयार पार्दासम्म त्यहाँ १८ वटा हृयुम पाइप मात्रै बिछ्याएको छ। त्यतिका हृयुम पाइप बिछ्याउँदा खोलाको सतह भएको तीन भागको एक भाग पानी पनि कटेको छैन।

सडक डिभिजन कार्यालय इलामका प्राविधिकहरुले १६ वटा हृयुम पाइपले खोलाको सबै पानी कटाएर डाइभर्सन गर्न सकिने भनेपछि सोहि अनुसारका सामग्री ल्याएर आइतबार बिहान काम थालिएपनि सामग्री अपुग भएपछि सोमबार दिनभरी काम प्रभावित भएको थियो। डाइभर्सन निर्माणमा ढिलाइ हुँदा हेंवा खोला पारी रहेका पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै सिङ्गो ताप्लेजुङ जिल्लामा खाद्यान्न र इन्धन पठाउन सकिको छैन ।

अधिकांस बजारमा रहेको भण्डारण सकिँदै गएकाले दसैंको मुखमा खाद्यान्न अभाव हुन थालेको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी बताँउछन्।

यसअघि जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको विपद् व्यवस्थापन समिति र सर्वदलीय बैठकले हेवा खोला डाइभर्सन गरेर दसैं अगावै खाद्यान्नसहितका अत्यावश्यक वस्तु ताप्लेजुङ पुर्‍याउने वातावरण मिलाउने निर्णय गरेको थियो।

image-(3)-1728308801.jpg
प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हेंवा खोलामा बेलिब्रिज बनिसकेको भन्दै लेखेर पटकपटक सम्पादन गरिएको स्टाटस

सडक डिभिजन इलामले संवेदनशिल भएर काम नगर्दा डाइभर्सनमा ढिलाइ भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालको टिप्पणी छ।

सोमबार मध्यान्न हेंवा खोला पुगेका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख (सुपरिटेन्डेन्ट इन्जिनियर) विनोदकुमार मौवारले दुई दिन भित्र मेची राजमार्गको सबै अवरोध हटाइसक्ने आश्वासन दिएर फर्किएका छन्।

यद्यपी हालसम्म सडक डिभिजनले गरेको प्रगति हेर्दा दुई दिनमै बाटो खुल्ने सम्भावना न्युन रहेको स्थानीयको टिप्पणी छ। शनिबार अपरान्ह हेवा खोलामा हृयुम पाइप आइपुगेपछि शनिबार बिहानै काम थालिएपनि त्यसले नपुगेपछि डाइभर्सन निर्माणको अवधि लम्बिने निश्चित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए।

‘काम सकेर आइबार साँझदेखि चारपाङ्ग्रे साधन सुचारु गर्ने योजना थियो, गलत इस्टिमेटका कारण सफल हुन सकेन,’ प्रजिअ कोइरालाले भने।

डाइभर्सन निर्माणमा थप ४० वटा हृयुम पाइप लाग्ने बताइएको छ। ती पाइप इटहरीबाट ल्याउँदै गरेको र आइपुगेपछि डाइभर्सन निर्माणको काम पुनः सुरु गरिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए।

आइतबार नै चारपाङ्ग्रे साधन वारपार गर्न सक्ने व्यवस्था मिलाउन भनेको सडक डिभिजनले आवश्यक सामग्री नै थोरै ल्याएर झलाएको भन्दै आक्रोश पोख्न थालेका छन्।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:३४
Weather Update