News Griha :: न्यूजगृह
'बेहुली फ्रम मेघौली'का क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती, निर्माताले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं— दर्शकको साथ पाइरहेको फिल्म 'बेहुली फ्रम मेघौली'का क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माताले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

फिल्म हेर्न पुगेका दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक लगायतमा अपलोड गर्ने क्रम बढेपछि सोमबार साइबर ब्युरो पुगेर उजुरी दिएको निर्माता एवं अभिनेता निश्चल बस्नेतले बताए।

'हामी केही समयअघि साइबर ब्युरो पुगेर निवेदन दियौँ। सामाजिक सञ्जालबाट जति पनि क्लिप अपलोड भएका छन्, ती बन्द गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न भन्दै निवेदन दिएका छौं। त्यहाँबाट फिल्मको भिडिओ क्लिप राख्ने अकाउन्टहरू बन्द गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,' बस्नेतले भने, 'फिल्म बौद्धिक सम्पत्ति भएको र यो अपराध हो भन्नेबारे सबै दर्शकले बुझ्न जरूरी छ।' 

May be an image of 1 person and textप्रदर्शनरत फिल्मको भिडिओ क्लिप सामाजिक सञ्जालमा अपलोड हुनेक्रम बढेसँगै चलचित्र विकास बोर्डले केही दिनअघि सूचना जारी गर्दै सचेत गराएको थियो। हलबाट फिल्म पाइरेसीमा पर्दा निर्माताले घाटा बेहोर्नुपर्ने अवस्था समेत देखिने गरेको छ।

'बेहुली फ्रम मेघौली' गत बिहीबारदेखि प्रदर्शनमा आएको हो। यसमा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन्। 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:३४
Weather Update