News Griha :: न्यूजगृह
चितवनमा २ मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोकिँदा १ जनाको मृत्यु, ५ घाइते

चितवन— चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज बिहान एउटा मोटरसाइकल अनियन्त्रित भई अर्को एउटा मोटरसाइकल र एक स्कुटरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार पूर्वपश्चिम राजमार्गको टिकौली जंगलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्य दुई सवारीमा ठोक्किएको हो।

सो मोटरसाइकलले बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा चालक र पछाडी बस्ने गरी छ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थाका स्कुटर चालक स्याङ्जाको आदिखोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था खतरामुक्त छ। 

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैडाकोट नगरपालिका–८ नवलराससीकी बिविका सापकोटाको अवस्था सामान्य छ।

उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:२५
Weather Update