News Griha :: न्यूजगृह
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन

काठमाडौं— नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ।

एक साताअघि मात्रै अकस्मात् भारी वर्षा हुँदा काठमाडौं उपत्यकासहित देशका पूर्वी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकोमा दसैँ नजिकिँदा समेत पानी पर्न छाडेको छैन। तर अब दसैँसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ। अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ। 'मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,' विभागले भनेको छ।

आइतबार पनि देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रह्यो। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।

मनसुन कायम रहेको क्षेत्रमा सोमबार र मंगलबार पनि मौसममा आंशिक बदली रहने विभागले जनाएको छ। यो वर्ष गत जुन १० मा मनसुन नेपाल भित्रिएको थियो। विज्ञहरूका अनुसार सरदर मितिभन्दा तीन दिन अगावै मनसुन नेपाल भित्रिएको थियो। नेपालमा औसतमा सरदर एक सय १२ दिन अर्थात् जुन १३ मा सुरु भएर अक्टोबर २ सम्म मनसुन रहने गरेको छ। मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो।

मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ। भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बंगालको खाडीबाट मनसुनी हावा आउने गर्छ। हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ। वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेशलगायतका देशतर्फ बहन्छ। तातो हावा चिसिएपछि पानी पार्छ। हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ।

मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन्। तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ। नेपालको सन्दर्भमा बंगालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ। त्यसैले यहाँ मिसिएपछि बदली र वर्षाको सम्भावना धेरै रहन्छ। नेपालमा कृषिका लागि मनसुन आवश्यक छ।

पछिल्लो समय मनसुन भन्नासाथ कृषि प्रणालीभन्दा पनि बाढी, पहिरोलगायतका प्रकोपको चिन्ता धेरै हुने गरेको छ। कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको सुरुमै हिमालतिर पानी पर्ने लगायतका परिवर्तन र सडकलगायतका विकासका कामले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनलाई विपद्‌सँग जोडेर हेर्ने गरिएको छ।

यो वर्षको मनसुनमा काठमाडौं उपत्यकासहित देशका २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूको रेकर्ड ब्रेक हुने गरी अत्यधिक पानी परेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:३०
Weather Update