News Griha :: न्यूजगृह
अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ। अध्यक्ष दाहालले अब देशव्यापीरूपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकोले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको दाहालको दाबी छ। उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिए।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले देशव्यापीरूपमा देखिएको जनताको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउनुपर्ने बताए।

पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको सङ्कट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको भन्दै उनले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:२१
समसामयिक
Weather Update