News Griha :: न्यूजगृह
विपद्पश्चात्‌ सङ्क्रमण फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात्‌ महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मन्त्रालयमा कुनै जानकारी नआएको बताए।

उनले भने, 'हामीले पखाला लगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ। हालसम्म त्यस्तो खबर आएको छैन।'

अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ। विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले विपद्पश्चात्‌ एकैपटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताए।  

'विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आएका छैनन् यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौँ”, उनले भने, “विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ। खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ। त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ।”

साथै लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा चालिसेको जोड छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:१२
समसामयिक
Weather Update