News Griha :: न्यूजगृह
११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित २ जना पक्राउ

मकवानपुर— जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौँडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरूलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ। प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो। सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्काले बताए।

खड्काका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंतर्फ जाँदै थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:३८
समसामयिक
Weather Update