News Griha :: न्यूजगृह
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित
फाइल तस्बिर।

काठमाडौं— असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ।
गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो। अझै १९ जना बेपत्ता छन्। घाइतेहरुको संख्या १६५ छ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ। बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दसैँ अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ। यसैगरी संघीय राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ।

यातायातका साधन सहज रुपमा सन्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ। सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ। १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन्।

११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ ।
९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:४६
Weather Update