
अछाम— अछाममा एक सुत्केरीको मृत्यु भएको छ।
ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गएराति करिब १२ बजे उनलाई सुत्केरी व्यथा लागेको थियो।
परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।
बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रावको समस्या देखिएको थियो। त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो।
सुत्केरी भएको करिब ७ घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
ढिलो गरी अस्पताल पुर्याएकोले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्यले बताए।