News Griha :: न्यूजगृह

काठमाडौं— इन्द्र राना प्रतीकले जीवनको चार दशक पोखरा सेती नदी किनारमा बालुवा बोकेर बिताए ।

दुखजिलो गरेर आफू र परिवारको पेट पाले । पाटीको बास, मजदुरी जीवन र भद्रगोल जीवनशैली । कवि राना ६० वर्ष पुग्दासम्म पनि मजदुरी जीवनबाट माथि उठ्न सकेका छैनन् । मजदुरीसँगै कविता लेख्दै आएका भुइँमान्छे राना आइतबार पोखराबाट जहाज चढेर काठमाडौं आए ।

जहाज चढ्नु र काठमाडौं आउनु उनको लागि ऐतिहासिक हो । कारण, उनी जीवनमै पहिलोपटक जहाज चढे र पहिलो पटक नै काठमाडौं आए । र, जीवनकै पहिलोपटक काठमाडौंमा उनको कविता सङ्ग्रहको विमोचन भयो । उनी ५१ हजार रुपैयाँसहित सम्मानित भए । रानाले आफ्ना कविताहरू वाचन गरे । १ मार्च २०२३ इन्द्र रानाको लागि ऐतिहासिक दिन रह्यो । एक मजदुर कविको कविता सङ्ग्रहको विमोचन मजदुर दिवस कै दिनमा गर्ने संयोग जुराएको थियो ‘कन्सेप्ट नेपाल’ नामक संस्थाले ।

‘काठमाडौंका साँघुरा गल्लीहरूमा बेपरवाह गुड्ने गाडी र मोटरसाइकलको पाङ्ग्राले खुट्टै किच्छ कि जस्तो लाग्दो रैछ,’ कवि रानाले आफ्नो काठमाडौं अनुभव सुनाए, ‘काठमाडौंको तुलनामा पोखरा शान्त र व्यवस्थित लाग्यो ।’ भीडभाड र कोलाहलपूर्ण काठमाडौंलाई कवि रानाले आफैसँग दाँजे । ‘म जस्तै बेपरवाह, लथालिंग र अराजक लाग्यो काठमाडौं’, उनको कवि मन पोखियो । 

गुमनाम कवि

इन्द्र राना प्रतीक गुमनाम कवि हुन् । पोखराको साहित्य वृत्तमा यिनको बेलाबखत चर्चा हुन्छ । 

राम्रो कविता लेख्ने मानिसको रुपमा कलाचेत भएका मानिसहरूले उनलाई बुझ्छन् । मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी कविता लेखिरहन्छन् । आक्कल झुक्कल पोखरामा हुने कवि गोष्ठीहरूमा सहभागिता जनाउँछन् । र, आफूले लेखेका कविता सुनाउँछन् । इन्द्रलाई नजिकबाट चिन्ने अर्का कवि सुरज उपाध्याय भन्छन्, ‘पाण्डुलिपिकै कुरा गर्ने हो भने कवि इन्द्र राना दाइले लेखेका कवितामार्फत थुप्रै किताबहरू प्रकाशन गर्न मिल्छ ।’ 

indra-rana-poet31682943299.jpg
भुइँमान्छेका कविता नाम कवितासङ्ग्रह विमोचन कार्यक्रममा तीर्थ श्रेष्ठ बायाँ, इन्द्र राना बिचमा र कवि माया ठकुरी दायाँ

तर ती कृतिहरुलाई प्रकाशनमा ल्याउन न उनीसँग कहिल्यै पैसा भयो, न त कसैले उनीमाथि लगानी नै गर्‍यो। साहित्यिक पुस्तकहरू प्रकाशन गर्दै आएको ललितपुरको बुक्सहिमालयनले यो पटक मजदुर कवि इन्द्र राना प्रतीकको कविताहरू प्रकाशन गर्‍यो। ‘भुइँमान्छेको कविता’ शीर्षक दिएर कवितालाई पुस्तकाकार गरेको प्रकाशन गृहले सो कृति विक्रिबापत आउने सम्पूर्ण रोयल्टी उनै कवि रानालाई दिने जनाएको छ । कविता सङ्ग्रहमा उनले लेखेका ३३ वटा कविता समावेश छन् । 

अस्तव्यस्त दैनिकी

उमेरले ६० पुगेका राना जति सशक्त कविता लेख्छन्, उनको दैनिकी भने अस्तव्यस्त छ ।

साँझ परेपछि उनी मस्त रक्सी पिउँछन् । पाटीमा बस्छन् । लामो समय सेतीघाटमा बालुवा बोकेका राना अहिले भने पोखराकै बिन्दवासिनी मन्दिरमा नरिवल फोड्ने काम गर्छन् । दुई श्रीमतीले उनलाई छाडेर गइसके । ३ छोरा र २ छोरीको बुवा रानासँग अहिले भने १ छोरा र १ छोरी मात्रै बस्छन् । उनलाई नजिकबाट चिन्ने जो कोहीले उनलाई ‘बेपरवाह, अराजक र अव्यवस्थित’ व्यक्ति भन्छन् ।  

पोखराका कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘इन्द्र राना प्रतीकका दुख अवर्णनीय छन् । मेरै आँखा अगाडि उनले मजदुरीका अनेक आयाम भोगेका छन् । बाँस बोक्नेदेखि भित्ता रंगाउने सम्म, बालुवा बोक्नेदेखि नरिवल फोड्ने सम्म रानाले गरेको दुख मैले देखेको छु ।’  

tirtha-shrestha-poet1682943299.jpg
कवि तीर्थ श्रेष्ठ

श्रेष्ठका अनुसार कवि र कलाकारहरूको प्राय अव्यवस्थित जीवनशैली हुन्छ । तर उनको बुझाईमा राना सबैभन्दा अव्यवस्थित कवि हुन् । ‘इन्द्र रानालाई हेर्दा लाग्छ, अराजक र लापरवाह जीवनशैली नै उनको सृजनाको बाटो हुन्’, मण्डला थिएटरमा रानाकै कविता विमोचन भइरहँदा श्रेष्ठले उनको बारेमा टिप्पणी गरे । यति हुँदाहुँदै पनि राना कोमल अनि सरल भाषामा जीवनका कविताहरू लेख्ने कवि भएको श्रेष्ठले बताए ।  

मजदुरी गर्न कुनै बेला इन्द्र रानाका बुवा भारतको मेघालय पुगेका थिए । उनले त्यतै घरजम गरे । इन्द्र मेघालय मै जन्मिएका हुन् । उमेरले २१ वर्षको हुँदा नेपाल फिरेका इन्द्रको पुर्ख्यौली थलो भने स्याङ्जाको क्याक्मी हो । बुबाको भागमा पर्ने क्याक्मीको जग्गाजमिन इन्द्रले पाएनन् । त्यसपछि उनी पोखरा झरेर मजदुरी गर्न थालेका हुन् । उपन्यास पढ्न सौखिन रानाले पोखरा झरेपछि तत्कालीन समयमा सरुभक्त, हरिदेवी कोइराला र तीर्थ श्रेष्ठकै प्रभावमा परेर कविता कोर्न थालेका हुन् । ‘कवितामा विचारको लडाइ हुँदो रैछ । त्यसैले मलाई यो विधाले तान्यो,’ कवि रानाले भने, ‘र कवितामा कला हुनु पर्दो रैछ भनेर पोखराका यिनै हस्तीहरू मार्फत बुझेँ ।’  

मजदुरी गर्न नभुलेका कवि 

सोमबार काठमाडौंमा भएको इन्द्र राना प्रतीकको कृति विमोचन तथा एकल कविता वाचन कार्यक्रममा कथाकार माया ठकुरी, साहित्यकार अभय श्रेष्ठ, पत्रकार अमृत भादगाउँलेले उनको बारेमा चर्चा गरेका थिए ।

एउटा मजदुर कविले आफ्नो जीवनका अवयवहरूलाई कवितामार्फत निकै सुन्दर तरिकाले प्रस्तुत गरेको उनीहरूले बताए । ‘रानाका कविता हृदयबाट उब्जिएका छन्’, विमोचित कविता कृति माथि चर्चा गर्दै वक्ताहरूले भने ।

जतिसुकै दुख अनि पीडामा जीवन गुजारे पनि कवि रानाले कविता लेख्न छाडेनन् । मजदुरी गर्न भुलेनन् । र, आगामी जीवन पनि यसैगरी बिताउने उनको योजना छ । कवि राना आफ्नै कवितामा पोखिन्छन्, ‘पिउन मन लाग्छ पिउँछु, यसैगरी जिउन मन लाग्छ जिउँछु ।’  

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:४७
Weather Update