सर्लाही— गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए। आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैँका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको साहरा पनि गुमायो।
घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए। ‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो,’ बुबा भरत साहले भक्कानिँदै भने, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो। त्यो पूरा नहुँदै अस्तायो।’
छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताए। ‘घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?,’ गहभरि आँसु पार्दै भरतले भने। ४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउनुहुन्छ। परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किरान पसल हो। थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ।
‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो। घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ। परिवारमा पूरै अन्धकार छाएको छ। आमाको राम्रोसँग होस आएको छैन,’ उनले सुनाए।
वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए। कक्षा ६ देखि एसईईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरे। गत शैक्षिकसत्रमा एसईई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उनी काठमाडौं गए। दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौंको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए।
क्याम्पसले उनलाई एसईईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै थिए। शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौं फर्कँने क्रममा राति १:२५ बजेको समयमा काठमाडौंमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन भए।
‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ। दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु। जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो। किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन,’ दिदी विभाले भनिन्,‘कुनै कारणले फोन बन्द भयो कि? भन्ने लाग्यो। भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन। लगातार पानी परिरहेका थियो। बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ। बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए। दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ। सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले।’
आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए। चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौं लगेकाले उतै जान सल्लाह दिए बुबा भरतले सुनाए,‘पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन। काठमाडौंमा भएका आफन्तलाई पठायौँ। सोमबार बिहान छोराको शव पहिचान भयो। उफ!,’ एकछिन निशब्द भएका उनले आँसु पुछ्दै भने, ‘त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगेँ कुनै होस छैन। मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो। बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो।’