News Griha :: न्यूजगृह
युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौंमा बन्धक ६ बंगलादेशीको उद्धार

काठमाडौं— नेपाल हुँदै युरोपका विभिन्न देशमा रोजगारीका लागि पठाउने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका बंगलादेशी नागरिकको प्रहरीले उद्धार गरेको छ।

दलालले चार महिना पहिले काठमाडौं ल्याएर बन्धक बनाएका ६ जना बंगलादेशी नागरिकको उद्धार गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।

उद्धार गरिएका बंगलादेशीमा मोहम्मद रहिम कोन्दोकर, सकिब अहमिद, मोहम्मद तुहिनुर स्लाम अनिक, दुलाल होसेन मुन्सी, सम्राट बैद्य र रैयान काजी रहेका छन्।

उनीहरूलाई काठमाडौंको मित्रनगरस्थित होटल न्यू डिलाइट एण्ड लजमा प्रहरीले फेला पारेको थियो। बंगलादेशी नागरिक दिपु भन्ने एसके महबुलले युरोपियन देशमा पठाइदिने भन्दै चार महिना पहिले नेपाल ल्याएको खुलेको छ।
नेपालबाट युरोप पठाउन सजिलो हुन्छ भनी बंगलादेशबाट नेपाल ल्याएर ५–६ दिनपछि युरोप पठाउने भनेर झुक्याएका थिए। 

युरोपियन देश अल्वानिया, लिथुनिया र सर्बिया पठाउने भन्दै उनीहरुबाट बंगलादेशी रकम असुल गरेर दलाल फरार भएको खुलेको छ। उनीहरूलाई भने होटल न्यु डिलाइट एण्ड लजमा राखेर अलपत्र पारेका थिए।

पीडितहरूले भने नेपालमा जाहेरी दिन मानेका छैनन्। मानव बेचविखन अनुसन्धान ब्युरोका अनुसार बंगलादेशी एजेन्टहरूलाई बंगलादेशको कानुन अनुसार नै कारबाहीका लागि बंगलादेश गएर उजुरी गर्ने बताएका छन्। 

बन्धक बंगलादेशीको नेपालको भिसाको म्याद पनि सकिएको छ। थप कारबाहीका लागि राहदानीसहित अध्यागमन विभागमा बुझाइएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:५४
Weather Update