News Griha :: न्यूजगृह
अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम अनुमोदन
फाइल तस्बिर।

काठमाडौ‌— अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो।

संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवलाई सर्वसम्मतिले अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ।

सुनुवाइका क्रममा यादवले नेपाल र अस्ट्रेलियाबीच राजनीतिक, आर्थिक, पर्यटन लगायतको सम्बन्ध विस्तार गर्ने बताइन्। नेपालको विकासमा अस्ट्रेलियाको आर्थिक सहयोग रहेको उल्लेख गर्दै यादवले आगामी दिनमा अझ सुदृढ गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपालमा उत्पादित अर्ग्यानिक चिया, कफी, अदुवा, अलैँची, सुती कपडा, कार्पेट, तयारी पोसाक लगायतको प्रदर्शनी, बिक्री गर्ने गरी व्यापार मेलाको आयोजना गरेर निर्यात व्यापारमा पहल गर्ने यादवको भनाइ थियो। 

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले यादवलाई अस्ट्रेलियाको राजदूतमा नियुक्त गर्ने प्रक्रिया बाँकी रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:३३
Weather Update