News Griha :: न्यूजगृह
सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं— सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सात बुँदे सहमति भएको छ ।सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच वार्ता भएको थियो ।

जसअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको छ ।

त्यस्तै कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसद्को आगामी अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने, आगामी ६० दिनभित्र उक्त विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा तयार गर्ने सहमति भएको छ । 

यसैगरी आगामी आर्थिक वर्षदेखि संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने सहमति भएको छ । उक्त सहमतिमा  अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रवर्द्धन गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवा आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, सञ्चालन तथा दिगोपना कायम गर्ने विषयसँग सम्बन्धित कानुनमा सुधार गरी सहजीकरण गर्ने उल्लेख छ । 

सरकारसँग सहमति भएसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।  

mahabir pun-sarkar-sahamati1682942465.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:४१
Weather Update