News Griha :: न्यूजगृह
राज्य व्यवस्था समितिमा सांसदको प्रश्न– विपद् प्रतिकार्यमा किन कमजोरी भयो?

काठमाडौं— सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्।

राज्यव्यवस्था समितिको मङ्गलबारको बैठकमा उनीहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उनीहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

सांसद रवि लामिछानेले विपद्का समयमा अनवरत खट्नुपर्ने जिम्मेवार पदाधिकारी नै मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्विकार्नुपर्ने बताए। ‘राष्ट्रिय आपतकालका बेला जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवार बने, जुन ढङ्गको तयारी हुनुपर्थ्यो, त्यसखालको तदारुकता देखिएन, झारा टार्ने काम भयो,’ उनले भने, ‘स्रोत साधन र क्षमता सीमित छ, तर असीमित इच्छाशक्ति भएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो।’

सांसद गगन थापाले राष्ट्रिय विपत्तिका बेला सबै सरकार, राजनीतिक दल र नागरिक एकताबद्ध हुनुपर्ने र जिम्मेवारी तहमा बसेका पदाधिकारीले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए। ‘बैठक धेरै भए, कतिपय निर्णय ‘डुब्लिकेसन’ भएका छन्, अब धेरै बैठक बस्नु पर्दैन, भएका निर्णय कार्यान्वयन गर्ने हो,’ उनले भने।

सांसद चित्रबहादुर केसीले विपद्का समयमा वादविवाद नगरी राष्ट्र र जनताको पीडामा सिङ्गो मुलुक एकजुट हुनुपर्ने बताए।

सांसद रघुजी पन्तले विपद् प्रतिकार्यलाई चुस्त बनाउन सरकारले आफ्नो क्षमता बढाउनुपर्ने धारणा राख्दै बाढीपहिरोले भत्काएका संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सहायता लिन ढिलाई गर्न हुने बताए । ‘सडक बन्द भएको अवस्था छ, यही बेला हवाई भाडा वृद्धि भएको छ, आधारभूत संरचना ध्वस्त हुँदा त्यसको मर्मत गर्न अन्तर्राष्ट्रिय सहायता लिनु उचित हुन्छ,’ उनले भने।

सांसद राजेन्द्र पाण्डेले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले ‘ट्राभल एडभाइजरी’ जारी गरेको भए पनि राजमार्गमा किन निर्वाध यातायातका साधन चल्न दिएको भनी प्रश्न गरे। उनले राष्ट्रिय विपद्का बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निकम्मा बनेको आरोप लगाए।

सांसद प्रकाश अधिकारीले एक साता अघिदेखि नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि नदी किनारामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न किन ढिलाई गरेको भन्दै प्रश्न गरे।

सांसद दीलेन्द्रप्रसाद बडुले ठूलो मनसुनी वर्षा हुने पूर्वानुमान र पूर्वचेतावनीकाबीच राजमार्गमा यातायात चल्न दिनु कमजोरी भएको बताए। सांसद सरिता प्रसाईंले पछिल्लो विपद्को सन्दर्भमा पूर्वानुमानका बारेमा पर्याप्त सूचना प्रवाह भए पनि पूर्वचेतावनी कार्यान्वयनमा सरकार चुकेको बताइन्। 

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढीपहिरोले सडक अवरुद्ध हुँदा सयौँ यातायात मजदूर राजमार्गमा अलपत्र परेको जनाउँदै उनीहरूलाई न्यूनतम आधारभूत सेवा दिनेतर्फ स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको बताए।

‘बीपी राजमार्गमा अझै पनि पाँच सय बस अलपत्र छन्, चित्लाङमा ५० वटा गाडी अड्किएका छन्,’ उनले भने, ‘यात्रीको उद्धार भयो तर यातायात मजदुर अलपत्र छन्।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:५७
Weather Update