नियमित काम रोकेर राहत र उद्धारमा खटिन एमालेको निर्देशन
काठमाडौं— नेकपा एमालेले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ।
मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर पोखरेलका अनुसार विपत्तिमा परेका जनतालाई राहत र उद्धारका लागि कार्यकर्ताहरू परिचालित गर्ने निर्णय गरिएको छ।
‘पार्टीका नियमित काम रोकेर उद्धार र राहतका काम गर्न कार्यकर्ताहरूलाई भनिएको छ,’ उनले भने, ‘सरकारले राहत कोषमा एक अर्ब राखेको छ। पार्टीका तर्फबाट ५० लाख राहत कोषमा उपलब्ध गराउने निर्णय भयो।’
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक रहेको पनि एमाले सचिवालय बैठकको निष्कर्ष रहेको महासचिव पोखरेलले बताए।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १३:५२