1682937998.jpg)
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।
सोमवार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताए । उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।
सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बिमाको दायरामा ल्याउनुपर्ने पनि बताउँदै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए । उनले भने – 'आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्न सक्ने अवस्था छ ? यसतर्फ पनि यस्तो बेला समीक्षा हुनुपर्दछ । मलाई लाग्छ, अहिले पनि श्रमिकहरूको जीवन पूर्ण रुपले मर्यादित हुन सकेको छैन । सुरक्षित त छैन नै । राज्यको निर्माणमा सबभन्दा ठुलो योगदान पुर्याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ ।'
सबैको अस्पताल भएको भन्दै तर श्रमिकहरूको अस्पताल नभएको लिङ्देनले बताए । 'म यतिबेला ट्रेड युनियनहरूलाई भन्न चाहन्छु, अबको ट्रेड युनियन आन्दोलन भनेको श्रमिकहरूको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ हुनुपर्दछ भन्ने मलाई लाग्दछ । राप्रपा मजदुरहरूको बारेमा सु स्पष्ट छ । हामीले स्पष्टसँग भनेका छौँ कि पूर्ण रुपले सामाजिक सुरक्षासँग श्रमिकहरू जोडिनुपर्दछ', लिङ्देनले भने, 'श्रमिकहरूको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ । अहिले नै पनि सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बिमाको दायरामा ल्याउने र आधारभूत तहको स्वास्थ्य सेवामा मात्रै पनि सुनिश्चितता प्रदान गर्न सकिन्छ । श्रमिकका बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्न सकिन्छ ।'
देशभित्र काम गर्ने हरेक श्रमिकलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने भन्दै उनले उनीहरूको सूचीकरण गर्नुपर्ने बताए । उनले भने, 'सबभन्दा पहिले यो देशको श्रमिकलाई कामको अवसर दिनुपर्यो । आज हाम्रो धेरै कामहरूमा श्रम इजाजत बिना बाहिरबाट आएका मानिसहरूले ओगटिरहेको अवस्था छ । यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । हाम्रो मजदुरहरू विस्थापित हुने अवस्था छ । यसतर्फ पनि ट्रेड युनियनहरूको ध्यान पुग्नुपर्दछ ।'
अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशका श्रमिकहरूलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने समेत बताए ।













