
काठमाडौं— शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय पुगेको छ।
नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या दुई सय पुगेको हो। त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता छन्।
प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ।
अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ।
बाढीपहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन कार्यदल गठन
गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ।
असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि ८ जना सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको विज्ञप्तिमा उल्लेख छ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्। कार्यदलले पुस २० गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने छ।
कार्यदलले अति भारी वर्षका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने छन्। यस्तै, बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार पार्नेछ।
क्षतिग्रस्त सडकहरूको शिघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहसँग समन्वयन गर्ने बताइएको छ।