News Griha :: न्यूजगृह
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं— पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

बर्दघाट नगरपालिका– ४ दाउन्ने जङ्गलस्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए।

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो। उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएँपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।

सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ। सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसँग समन्वय भइरहेको डीएसपी बोहराले बताए।

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:०१
Weather Update