काठमाडौं— सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो भेटिएको हो।
विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा पानीको गुणस्तर जाँचेको थियो । परीक्षणका क्रममा पानीमा फिकल कोलिफर्म र एमोनिया देखिएको हो। ‘सर्वसाधारणले पिउने पानीको निरन्तर परीक्षण गर्दै आएका छौँ, २१ ब्रान्डका नमुना परीक्षण गर्दा ११ ब्रान्डमा कैफियत देखियो । पानीमा फिकल कोलिफर्म भेटियो। केही स्थानमा एमोनिया पनि देखिएको छ,’ विभागका वरिष्ठ पशु चिकित्सक अवधेश झाले भने, ‘कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा ३ सयसम्म भेटिएको छ।’
पानीमा कैफियत देखिएपछि ती ब्याचका पानी तत्काल बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको महानगरले जनाएको छ। अब बिक्रीवितरण हुने पानीको प्राविधिक परीक्षण प्रतिवेदन (सरकारी निकायबाट पेस गरेर मात्र) बिक्रीवितरण गर्न पनि भनिएको छ । पानीमा देखिएको फिकल कोलिफर्म र एमोनियाबारे काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले पनि पुष्टि गरे। एमोनिया धेरै कुराले हुन्छ। यसमा प्रदूषण मुख्य कारक हो। यो ढल र बाहिरको फोहोर मिश्रण भएको पानी पनि हो। फिकल कोलिफर्म भनेको पनि ढल, दिसा र पिसाब मिश्रण पानी भएको खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले जनाए।
महानगरपालिकाको आधिकारिक अनलाइन पोर्टल मेट्रो न्युजमा उल्लेख भएअनुसार प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको छ। सीएफयू सूक्ष्म जीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो।
टोखामा रहेको पञ्चरत्न ग्रुप प्रालिको ब्रान्ड ‘फ्रेस ड्रप’ पानीमा फिकल कोलिफर्मको मान २३ सीएफयू देखिएको छ। कागेश्वरी मनोहरामा रहेको उत्तरवाहिनी फुड एन्ड बेभरेज प्रालिको उत्पादनमा पनि कोलिफर्मको मान ११६ सीएफयू देखिएको जनाइएको छ। गोकर्णेश्वरमा रहेको एक्वा सुन्दरी, कागेश्वरी मनोहरामा रहेको स्नो क्युब ड्रिंकिङ वाटर प्रालिको उत्पादनमा पनि कोलिफर्मको मात्रा अत्यधिक देखिएको हो।
गोकर्णेश्वरको स्तूपा इन्डस्ट्रिज प्रालि, कपनको एमके मिनरल वाटर प्रालि, गोकर्णेश्वरकै कोशी मिनरल वाटर उद्योग प्रालि, टोखाको पिस स्प्रिङ वाटर प्रालि, टोखाकै अक्वा एसएनएस बेभरेज प्रालि, तार्केश्वरको जम्बुलिंगा ग्रुप इन्डष्ट्रिज प्रालिको उत्पादनमा कैफियत देखिएको विभागले बताएको छ। ‘उद्योगबाट उत्पादन गरी वितरण गरिएको पिउने पानीको जारको नमुना संकलन गरी परीक्षण गर्दा फिकल कोलिफर्म देखियो।
उक्त पानी पिउनयोग्य रहेन। योग्य नरहेको वस्तु बिक्रीवितरण गरेको पाइएकोले काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ बमोजिम हुने देखियो,’ विभागले भनेको छ, ‘ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ।’ सर्वसाधारणले उपभोग गर्ने पानी दुषित भेटिएपछि महानगरले ११ कम्पनीको पानी बिक्रीवितरणमा रोक लगाई जनही दुई लाख जरिवाना गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा पनि पानी उद्योगीले यस्तै बदमासी गरेको पाइएको छ । पछिल्लो समय खाद्यले चाडबाड लक्षित अनुगमन गर्दै आएको छ। गत साता धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानीमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा मादण्डविपरीत उत्पादन गरेको पाइएको थियो। ‘मापदण्ड र अभिलेख नपाइएको हुँदा खाद्यबमोजिम नमुना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ गर्ने स्थान सिलबन्दी गरेका छौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन महर्जनले भने।
धापासीस्थित सनराइज बेभरेज नेपाल प्रालिलाई पनि सिलबन्दी गरिएको उनले बताए। ‘निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीका जारमा पानी फिलिङ गरी बिक्री गरेको पनि भेटियो,’ उनले भने, ‘ती कम्पनीको प्रशोधन कक्ष सिल गरी अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएका छौं।’
खाद्यले गत वर्ष पनि यस्तै प्रकृतिका कैफियत भेटाएको थियो। विभागले गत वर्ष प्रशोधित पिउने पानीका ११४ वटा नमुना संकलन गरेको थियो। ती नमुना परीक्षण गर्दा १० वटा नमुना प्रतिकूल पाइएको थियो। ०८०/८१ मा प्रशोधित पिउने पानीका ४५ वटा मुदा दायर पनि गरेको थियो। उक्त मुद्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका ४३ कार्यालयबाट सम्वन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो।
वाणिज्य विभागले पनि गत आर्थिक वर्षमा ७ पानी उद्योगलाई ६ लाख २५ हजार जरिवाना गरेको थियो। नमुना परीक्षण गर्दा जारको पानीमा मुख्यतः कोलिफर्म आउने गरेको छ। प्रशोधित खानी पानीको हकमा पनि पीएच भ्यालू र ब्याक्टेरियाकै समस्या देखिन्छ। पानीको पीएच भ्यालू ६ देखि ८ को बीचमा हुनुपर्छ। ब्याक्टेरिया हुनुहुँदैन। तर बजारमा पाइने धेरैजसो पानी, पानीको जारमै समस्या देखिएको छ। दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ। झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड पनि हुन सक्ने जनाइएको छ।
यता नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतमले भने महानगरपालिकाले गरेको परीक्षणको पानीको जिम्मेवारी नलिने बताएका छन्। ‘महानगरपालिकाले कहाँबाट पानीको नमुना संकलन गर्यो, हामीलाई कुनै खबर छैन। पानीको प्रतिवेदन आएपछि मात्रै उद्योगीलाई पत्र पठाइएको छ,’ अध्यक्ष गौतमले भने, ‘पानी उद्योगबाट दिएको हो कि बजारबाट हो, त्यसमा प्रश्न छ। नियमन र लाइसेन्स दिने खाद्य प्रविधि हो, अन्यमा परीक्षण गर्न पाइँदैन।’
कारबाहीमा परेका पानी उद्योग
फ्रेस ड्रप (पञ्चरत्न ग्रुप प्रालि)
एक्वा कोल्भाटेश्वर (उत्तरवाहिनी फुड एन्ड बेभरेज प्रालि)
एक्वा डिबी (एक्वा सुन्दरी)
एकुवा (स्नो क्युब ड्रिंकिङ वाटर प्रालि)
क्युब (स्तूपा इन्डस्ट्रिज प्रालि)
एक्वा माइल्ड (मुनलाइट स्प्रिङ वाटर इन्डस्ट्रिज)
एक्वा कपन (एमके मिनरल वाटर प्रालि)
एक्वा गौरीशंकर (कोशी मिनरल वाटर उद्योग प्रालि)
एक्वा पिस (पिस स्प्रिङ वाटर प्रालि)
एक्वा टोखा (अक्वा एसएनएस बेभरेज प्रालि)
एक्वा त्रिदेव (जम्बुलिंगा ग्रुप इन्ड्रस्टिज प्रालि)