News Griha :: न्यूजगृह
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

गैँडाकोट— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबार नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौला कालीका केबलकारको उद्घाटन गर्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए । उनले भने, 'निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिन सक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।'

आजको युगमा यी सबै सरकारले पूरा गर्न सक्ने कुरा नभएको भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्न सक्ने बताए । उनले भने, 'त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ति आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।'

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अप्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उनले परिणाम न निस्किँदासम्म आफूले धेरै कुरा भन्न नमिल्ने बताए । उनले भने, 'मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निराशा बाँड्ने काम रोक्नु पर्छ ।'

सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पुर्‍याएको, राहदानी र लाइसेन्समा सहजीकरण गरेको उनले जानकारी दिए । विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उनले बताए ।

पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उनले अझ बढाउने तयारीमा सरकार रहेको बताए । उनले भने, 'राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रद छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।'

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उनले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताए । उनले भने, 'गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौतीपूर्ण हुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईंहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।'

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उनले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताए । अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उनले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पुर्‍याउने उनको योजनाको प्रशंसा गरे ।

मौला कालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिक स्थल भएको भन्दै प्रधानमन्त्रीले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताए । उनले धार्मिक, संस्कृति पर्यटन प्रवर्द्धनका दृष्टिकोणले र ऐतिहासिक सांस्कृतिक सम्पदालाई जनताको आवश्यकतासँग जनताको जीवन र सम्बृद्धिको आकांक्षासँग जोड्ने परियोजनाका रुपमा यसलाई आफूले लिएको बताए ।

यी परियोजना निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहरण भएको उनले बताए । मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्त्वको चर्चा गर्दै उनले भने, 'आज केबलकारको उद्घाटन गर्दै गर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाऊँ जाऊँ भन्ने क्षेत्र हुन पुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटि मौला कालिका जानै पर्छ ।'

यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटीय क्षेत्रमा तटबन्धको गृहकार्य अघि बढेको उनले जानकारी दिए । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौला कालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको बताए । 'यो अत्यन्तै पुरानो धार्मिक स्थल हो', उनले भने, 'यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्त्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।' मौला कालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पुर्‍याउने उनले बताए ।

नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रतिनिधिसभा सदस्य प्रा डा शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताए । 'देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुन सकेको छैन', प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भने, 'यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू ।' स्थानीयको साझेदारीमा आइएम समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब दुई अर्ब रहेको केबलकारका अध्यक्ष ढकालले बताउनुभयो ।

यही १ वैशाखमा केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उनले केबलकारको अपर स्टेसनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताए । उनले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहेका ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पुर्‍याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताए ।

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौला कालीका फेदीमा रहेको धारापानीमा बटम स्टेसन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्दछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:४५
Weather Update