News Griha :: न्यूजगृह
शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा : २५ ठाउँको रेकर्ड ब्रेक

काठमाडौं— शुक्रबार र शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा भएको मौसमविद्हरूले जनाएका छन्। यी दुई दिनको वर्षाले ती जिल्लाको २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा नयाँ रेकर्ड कायम गरेको छ।

मौसमविद् गोविन्द झाका अनुसार ती ठाउँहरूमा मापन केन्द्र स्थापना भएदेखि यताकै सर्वाधिक वर्षा भएको हो।सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो। त्यसआधारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिबार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भयो।

विमानस्थलमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजे सम्ममा २३९.७ मिलिमिटर वर्षा मापन भयो। यसभन्दा अघि यहाँको सर्वाधिक रेकर्ड १७७ मिलिमिटर मात्रै थियो।

काठमाडौं उपत्यकामा मात्रै ११ वटा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको छ। विभागका अनुसार काठमाडौं जिल्लाका विमानस्थलसहित पानीपोखरी, बूढानिलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना र चापागाउँ तथा भक्तपुरको नंखेल वर्षा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको हो।

पानीपोखरी क्षेत्रमा ५३ वर्षपछि सर्वाधिक वर्षा भएको छ। पानीपोखरी वर्षा मापन केन्द्रमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म २०६.६ मिलिमिटर पानी परेको थियो। जबकि यहाँ सन् १९७१ पछि १९८ मिलिमिटरभन्दा बढी पानी नै परेको थिएन।

उता तनहुँको खैरेनीटारमा पनि निकै लामो समयपछि विषम वर्षा भएको विभागले जनाएको छ। त्यहाँ शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म २५२.३ मिलिमिटर वर्षा भएको थियो। जबकि सन् १९८३ पछि यहाँ यति धेरै वर्षा भएकै थिएन।

सिन्धुपाल्चोकको बाहुनपाटीमा पनि सन् १९७८ यताकै सर्वाधिक वर्षा भएको छ । यहाँ शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म १९०.६ मिलिमिटर वर्षा भयो। तर सन् १९७८ मा यसअघिकै धेरै १३७.५ मिलिमिटर वर्षा भएको थियो।

त्यस्तै, नुवाकोटको ककनीमा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८:४५ बजेसम्म १६९.२ मिलिमिटर वर्षा भएको छ । यहाँ सन् १९७२ यता १६१ मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन।

विभागका अनुसार काभ्रेका पाँचखाल, खोपासी र धुलिखेल वर्षा मापन केन्द्रहरूमा पनि वर्षाको नयाँ रेकर्ड कायम भएको विभागले जनाएको छ। त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, मकवानपुरको दामन, पाल्पाको बल्डयाङगढी, फिदिमको पाँचथर र तनहुँको सखर वर्षा मापन केन्द्रमा विषम वर्षा रेकर्ड भएको छ।

विभागका अनुसार शुक्रबार र शनिबार ती १४ जिल्लामा भारी देखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको थियो।

यी हुन् नयाँ रेकर्ड कायम भएका २५ वर्षा मापन केन्द्र

Heavy rain in 14 districts including Kathmandu on Saturday: record breaking in 25 placesमौसममा आजदेखि क्रमिक सुधार
शुक्रबार र शनिबारको भारी वर्षापछि आइतबार भने कोशी र लुम्बिनीबाहेकका ठाउँहरूमा मौसममा क्रमिक सुधार देखिएको छ। तर अहिले पनि नेपालमा मनसुनी वायुको प्रभाव र भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ।

आइतबार राति पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार भने देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

अब फेरि शुक्रबार र शनिबारकै भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद्हरूले बताएका छन्। तर सोमबार राति भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एकदुई स्थानमा पानी पर्न सक्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २१:२१
Weather Update