News Griha :: न्यूजगृह
सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला

काठमाडौं— अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ।

आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले उनीहरूलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो।

यदि अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। सिधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चार माध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडिओ सामग्री प्रकाशन गरेको थियो।

सिधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडिओ कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ। त्यस्तै सिधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको प्रवक्ता कुइँकेलले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १९:५७
Weather Update