News Griha :: न्यूजगृह
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३० जनाको शव फेला

काठमाडौं— पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन्। चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ। उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो।

डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ। पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए। त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ। उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:२२
Weather Update