News Griha :: न्यूजगृह
वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द

काठमाडौं— अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।

प्रसारण लाइनका कारण लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ । ‌

बाढीपहिरोका कारण मान्डु हाइड्रोपावर, माथिल्लो तामाकोशी, मध्य सोलु, बेनी सोलु, सोलु दुधकोशी, माथिल्लो दुधकुन्ड र मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्‍याएको छ ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ । नदीले सतह तह पार गरेपछि धेरै विद्युत् उत्पादन बन्द भएको प्राधिकरणका प्रवक्ता चन्दनकुरमा घोषले जानकारी दिए। 

बाढीले २२ मेगावाट क्षमताको मान्डु हाइड्रोपावरको पावर हाउस डुबाएको घोषले बताए । उनका अनुसार माथिल्लो तामाकोसी र मान्डु हाइड्रोपावरमा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले बाढी आएसँगै देशभरका जलविद्युत् आयोजनाको पावर हाउस बन्द गर्ने र कम भएपछि खोल्ने क्रम जारी रहेको उनको भनाइ छ । मान्डु हाइड्रोपावर, तल्लो हेवा खोला र माथिल्लो तामाकोशीमा बाढीले क्षति पुगेको उनले बताए ।

जलविद्युत् आयोजनाहरुमा पोल ढल्नेलगायत सामान्य विवरण आएपनि ठूलो क्षति भएको विवरण आइनसकेको उनले जानकारी दिए । बागमती खोलामा आएको बाढी र कुलेखानीको ड्याम खोल्दा माण्डु हाइड्रोपावरको पावर हाउस डुबाएको इप्पानले जनाएको छ । साधारणतया २८ सय मेगावाट बिजुली उत्पादन हुन्थ्यो । अहिले १२ सय मेगावाट बिजुली उत्पादन अवरुद्ध भएको छ ।

प्राधिकरणका प्रवक्ता घोषका अनुसार दमक र इलामस्थित गोदकको बीचमा रहेको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर, फिदिम र ताप्लेजुङ क्षेत्रमा अनिश्चितकालको लागि विद्युत् अवरुद्ध भएको छ ।

स्थानीय जलविद्युत् आयोजनाहरुले विद्युत् उत्पादन गरी स्थानीयमा वितरण गरेको खण्डमा मात्रै विद्युत् आपूर्ति हुन सक्ने घोषले जनाए । यस्तै काठमाडौं उपत्यकाका रेडियो नेपाल, सातदोबाटो, खोकना र भक्तपुरका केही स्थानमा लाइन चालु नभएको घोषको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:३५
Weather Update