News Griha :: न्यूजगृह
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द

सुनसरी—  कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । 

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले साँझ ५ बजे प्रतिसेकेन्ड पाँच लाख ५७ हजार क्युसेक नाघेको छ । 

पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोका समेत खोलिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:५६
Weather Update