News Griha :: न्यूजगृह
बाढी पहिरो अपडेटः देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता
अविरल वर्षाका कारण सर्लाही कर्मैयास्थित बागमती नदीमा रहेको ड्यामनिरको जल सतह बढ्दै । तस्बिरः रासस

काठमाडौं— अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

शनिबार दिउँसो २ बजेसम्म देशभर ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।

शनिबार अपरान्हसम्म काठमाडौंमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, सिन्धुपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:००
Weather Update