हवाइ उडान आंशिक सञ्चालनमा

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह साढे १२ बजेबाट आन्तरिक उडान आंशिक सञ्चालन भएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार साढे १२ बजेबाट आईएफआर उडान नियमअनुसार उड्न सक्ने जहाज र विमानस्थलहरूमा उडान खुला गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझबाट सबै उडानमा रोक लगाएको थियो । आज भरतपुरबाहेकका विमानस्थलहरू खुला भएको र फाट्टफुट्ट उडान सुरु गरिएको निरौलाले जानकारी दिए ।
उनका अनुसार अहिले भैरहवा, विराटनगर, पोखरा, धनगढी, नेपालगञ्जसहितका विमानस्थलमा उडान सुचारू गरिएको छ ।
अन्तर्राष्ट्रियतर्फ भने उडानहरू नरोकिएको उनले जानकारी दिए । ‘प्रतिकुल मौसमले केही उडानहरू डिले भएका छन्, तर ठप्प भएको अवस्था छैन,’ उनले भने ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १४:५५