
काठमडौं— सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूको निवेदनमा शुक्रबार न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ। सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कुइँकेलले आदेश नआइसकेकाले धरौटी रकम यकिन भइनसकेको बताए।
६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो।
चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो। उनीहरूविरुद्ध संगठित अपराधसहित पाँचवटा अभियोग लगाइएको छ।
करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ। उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा छ।
धरौटी सुविधा पाउने अभियुक्तहरूमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ छन्।