News Griha :: न्यूजगृह
गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई हिरासतमा राख्न ७ दिन म्याद थप

पोखरा— सहकारीको बचत अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ।

असोज ६ मा काठमाडौंबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो। भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो।

अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको कास्की प्रहरीका डीएसपी बसन्तकुमार शर्माले बताए। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले जोशीसँग बयान लिइसकेको छ।

गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत कारबाहीको सिफारिस गरेको थियो।

उक्त प्रतिवेदन प्रहरीले प्राप्त गरेसँगै जरुरी पक्राउ पुर्जी जारी गरेर जोशीलाई पक्राउ गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:३८
Weather Update