झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

झापा— झापामा गएरातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ।
अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।
उनका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ।
'पानी निरन्तर परिरहेको छ,' उनले भने, 'कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढ्दै गएको छ।' वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताए।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १८:३३