
काठमाडौं— बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्।
सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीबाट पक्राउ परेका हुन्। उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ। २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो। बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए। यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन्। उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।
उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। नेपाली २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए।
उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ। तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन्।
उनले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन्। उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए।