News Griha :: न्यूजगृह
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे

कास्की— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गरेर सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सके मात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ । 

शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन् समस्या रहेको भन्दै मुख्यमन्त्री पाण्डेले ती समस्या क्रमैसँग समाधान गर्दै मजदुर वर्गको हक, हित र सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरे । 

मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र राजनीतिक परिवर्तनले सार्थकता पाउनेमा जोड दिँदै उनले देश विदेशका सम्पूर्ण नेपाली दिदीबहिनी/दाजुभाइमा विश्वभरका श्रमिकको अधिकार स्थापित भएको यस दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गरे । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:३९
Weather Update