News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो।  

२०८० कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिहनु नपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए। 

लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्वयले आफ्नो राय किताबमा आदेशको ब्यहोरा उल्लेख गरेको र सो सर्वोच्च  अदालतको वेबसाइटमासमेत अपलोड भएको समेत अधिवक्ता लुइँटेलले जानकारी दिए।

टिकटक बन्द गर्ने निर्णयलाई चुनौति दिँदै अधिवक्तात्रय अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाको पहिलो निवेदनसहित १४ वटा रिट निवेदन दायर भएका थिए। टिकटक बन्द गर्ने निर्णयले संविधानको धारा १७९२ (क) ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको दाबी गरिएको थियो।  

संविधानको धारा १७(१)(क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता र धारा १९(१) मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने सुनिश्चित गरिएकोले सरकारको निर्णय गैर कानुनी भएकोले बदर भागी भएको दाबी गरिएको थियो । 

संविधानमा जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुचिश्चित गरेको उल्लेख गर्दै सो भन्दा बाहिर गरिएका कार्य बदर गर्न समेत रिट निवेदनमा माग गरिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २०:२४
Weather Update