इलाम— इलामको सन्दकपुरमा फरेस्ट पाइका नामको जंगली ठुटे खरायो भेटिएको छ। भारतसँग सीमा जोडिएको उत्तरी इलामको सन्दकपुर क्षेत्रमा ठुटे खरायो फेला परेको हो। झापाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले करिब चार महिनाअघि उक्त खरायोको फोटो खिचेका हुन्। खरेलले दार्जिलिङसँगै सीमा जोडिने सन्दकपुर गाउँपालिका–२ आहाल भन्ने ठाउँमा फेला पारेका हुन्।
खरेलले यसअघि हङरायो, वन कुकुर, हरियो परेवा लगायत पन्छी र जनावर पनि पहिलो पटक फेला पारेका थिए। यो खरायो नेपालमै पहिलो पटक देखिएको खरेलको दाबी छ। ‘नेपालको जैविक विविधतामा विभिन्न प्रकारका ठुटे खरायोहरू देखिएका छन् । तर, जंगली ठुटे खरायो अहिलेसम्म नेपालमा रेकर्ड भएको देखिंदैन।’
प्राणीविज्ञ करणबहादुर शाहले यसअघि कालोमुखे, हिमाली, लामा, लामकाने, नुब्री, मुसे र तिब्बती ठुटे खरायो फेला परिसकेको छ। तर, जंगली ठुटे खरायो भने पहिलो पटक भेटिएको हुन सक्ने अनुमान गरे। ‘यो जनावर नेपालमा रेकर्ड भएको छैन,’ उनले भने, ‘तर, फोटो हेर्दा चाहिँ हो कि जस्तो लागेको छ। खुट्याउन भने गाह्रो छ।’
उनका अनुसार सानो आकारको यो स्तनधारी जनावर मूलतः भारतसहित चीन, भुटान र म्यानमारको उच्च हिमाली क्षेत्रमा मात्रै पाइन्छ। भारतको सिक्किम र अरुणाचलको उच्च हिमाली क्षेत्रमा पनि यो केही समयअघि देखिएको थियो।
प्राणी विज्ञ शाहका अनुसार यो प्रजाति सामान्यतया मिश्रित शंकुधारी र चौडा पात भएको जंगलमा, झाडीमा, र ढुंगाको थुप्रो वरपरको क्षेत्रमा बस्छ। सामान्यतया समुद्री सतहदेखि २ हजार ६ सयदेखि ४ हजार ४ सय मिटर उचाइमा यो भेटिन्छ। विज्ञहरुहरुका अनुसार सामान्य शाकाहारी जनावर हो। यो चिसो हिमाली क्षेत्रमा वन रुचाउँछ। त्यही सिलसिलामा कञ्चनजङ्घा क्षेत्रको आसपास पहिलो पटक देखिएको हुन सक्ने विज्ञहरुको दाबी छ।
विज्ञ शाहका अनुसार यसको लम्बाइ लगभग १५ दशमवल ५ देखि १८ दशमलव ५ सेन्टिमिटर र तौल १ सय १० देखि १ सय ४८ ग्रामसम्म हुन्छ। यसको टाउको र कान अन्य खरायोको भन्दा अनौठो हुन्छ। सन् १९९४ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले जंगली ठुटे खरायोलाई अपर्याप्त जानकारी भएको प्रजातिका रूपमा वर्गीकरण गरेको थियो। सन् १९९६ मा यसको स्थिति निकट संकटापन्नको रुपमा चित्रण गरिएको थियो। सन् २००८ र २०१६ मा गरिएको अध्ययनपछि भने यो जनवारलाई ‘कम चिन्ताजनक’ सूचीमा राखिएको विज्ञहरूको भनाइ छ।
यसको वास्तविक संख्या कति छ भन्ने यकिन तथ्यांक कतै छैन। यसको व्यवहार र प्रजनन क्षमताबारे पनि अहिलेसम्म अध्ययन भएको पाइँदैन। जंगल विनाश बढ्दै गएमा अन्य जनावर झैं यो पनि मासिन सक्ने अनुमान विज्ञहरूको छ।