News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घको ७९‌औं महासभालाई सम्बोधन गर्दैछन्। न्युयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसङ्घले जनाएको छ। त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्। महासभामा सहभागी गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन्।

हिजो मात्रै प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता गरे। युनुस बङ्गलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारको प्रमुख बनेका हुन्। ओली र युनुसबीच ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाइएको छ।

यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

त्यसअघि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग पनि भेटवार्ता गरिसकेका छन्। ओलीले फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतलाई भेटिसकेका छन्। 

प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०८:२८
Weather Update