
काठमाडौं— चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। क्षेप्यास्त्र स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।
परीक्षण प्रक्षेपण नियमित र वार्षिक प्रशिक्षणको एक हिस्सा भएको मन्त्रालयको दाबी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले क्षेप्यास्त्रको प्रकार र यसको उडान मार्ग भने स्पष्ट नभएको जनाएका छन्।
सामान्यतः चीनले आणविक हतियार परीक्षणहरू घरेलु रूपमा नै गर्ने गरेको थियो। यसअघि उसले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सिनजियाङ क्षेत्रको तक्लामाकान मरुभूमिमा परीक्षण प्रक्षेपण गरेको थियो। यसअघि चीनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सन् १९८० मा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
पछिल्लो परीक्षणले चीनको अमेरिका र उसका साझेदारहरूबीचको तनाव थप चर्कने देखिएको छ। अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डोमेन्टका आणविक हतियार विशेषज्ञ अंकित पाण्डाले ‘चीनले नियमित र वार्षिक रूपमा यस्तो परीक्षण नगरेको’ बताउँछन्। ‘मलाई लाग्छ यो पहिलो पटक भएको छ र लामो समयमा यस्तो घोषणा गरिएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेको बीबीसीमा उल्लेख छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले ‘परीक्षण प्रक्षेपणका विषयमा बेइजिङले सम्बन्धित देशहरूलाई अग्रिम जानकारी गराएको’ जनाएका छन् । तर बीबीसीका अनुसार जापानले परीक्षण प्रक्षेपणबारे अग्रिम रुपमा कुनै पनि सूचना प्राप्त नगरेको जनाएको छ।
‘चिनियाँ पक्षबाट पहिले कुनै पनि सूचना आएको थिएन,’ जापान सरकारका प्रवक्ता योसिमासा हयासीले पत्रकारहरूसँग भनेका छन्। जापानी रक्षा मन्त्रालयले चिनियाँ क्षेप्यास्त्र परीक्षणका क्रममा भने जहाजहरूमा कुनै क्षति नभएको बताएको छ। ‘हामी चिनियाँ सेनाको चालबारे जानकारी संकलन र विश्लेषण गर्न जारी राख्नेछौँ र सावधानीपूर्ण तवरले सतर्कता र निगरानी गर्नेछौँ,’ मन्त्रालयले भनेको छ।
यसअघि चीनले १९८० मेमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। त्यतिबेला उक्त क्षेप्यास्त्र ९ हजार ७० किमि उचाइमा पुगेर प्रशान्त महासागरमा अवतरण गरेको थियो। परीक्षणमा १८ वटा चिनियाँ नौसेनाका जहाजहरू समावेश थिए। त्यसलाई चीनको हालसम्मकै ठूलो नौसेना मिसनमध्ये एक मानिन्छ।
क्षेप्यास्त्र परीक्षण प्रक्षेपण कुनै पनि देशप्रति लक्षित नरहेको चीनको भनाइ छ। तर यसले चीन र जापान, फिलिपिन्स तथा ताइवानबीच तनाव थप चर्कने देखिएको सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीका अनुसन्धाता ड्रियु थम्पसनको भनाइ छ। ‘समय नै सबै कुरा हो। यो प्रक्षेपण सबैलाई तर्साउने उद्देश्यले गरिएको एक शक्तिशाली संकेत हो,’ उनले भने।
अमेरिकास्थित रक्षा विश्लेषक जोन रिजले ‘चीनले सांकेतिक रूपमा अमेरिकालाई देखाउनका लागि’ परीक्षण गरेको हुन सक्ने बताउँछन्। गत वर्ष बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समय यस क्षेत्रमा चिनियाँ गतिविधिमा वृद्धि भएको छ। चीन र फिलिपिन्सबीच विवादित जलक्षेत्रमा बारम्बार पानीजहाजहरू ठोक्किने गरेका छन्। त्यस्तै, गत महिना जापानले एक चिनियाँ जासुसी विमानलाई आफ्नो वायु क्षेत्रको उल्लंघन गरेको आरोप लगाएपछि लडाकु विमानहरू खसालेको थियो।
त्यस्तै, स्वशासित ताइवानमाथि चीनको दाबी पनि उक्त क्षेत्रको तनावको अर्को मुख्य कारण हो। ताइवानको रक्षा मन्त्रालयले बुधबार चीनले हालै बृहत् क्षेप्यास्त्र प्रहार र अन्य अभ्यास गरिरहेको बताएको थियो। मन्त्रालयले ताइवानको वरिपरि २३ वटा चिनियाँ सेनाका विमानहरू पत्ता लगाएको बताएको छ। बेइजिङले नियमित रूपमा ताइवानको जल र हवाई क्षेत्रमा जहाज र विमानहरू उडाउने गरेको छ।
गत जुलाईमा चीनले वासिङ्टनसँगको आणविक हतियार नियन्त्रण वार्ता स्थगित गरेको थियो। अमेरिकाले ताइवानलाई निरन्तर हतियार बिक्री गरिरहेका कारण वार्ता स्थगन गर्नुपरेको चिनियाँ भनाइ थियो। त्यस्तै, गत वर्ष सेनाको रकेट फोर्स इकाइका दुई उच्च अधिकारीलाई भ्रष्टाचारको आरोपमा हटाएको थियो।
गत वर्ष प्रकाशित एक प्रतिवेदनअनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीनसँग ५ सयभन्दा बढी परमाणु हतियार रहेको जनाएको थियो। तीमधये कम्तीमा ३ सय ५० वटा अन्तरमहादेशीय क्षेप्यास्त्र छन्। चीनले सन् २०३० सम्म त्यस्ता हतियार हजारभन्दा बढी पुग्ने अनुमान प्रतिवदेनमा उल्लेख छ। अमेरिका र रुससँग भने त्यस्ता हतियारको संख्या ५ हजारभन्दा बढी छ।