News Griha :: न्यूजगृह
दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

दाङ— दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्। 

चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।

उपचारका क्रममा उनको बुधबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए।

उनीहरूलाई सुरुमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए।

आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:४८
Weather Update