
काठमाडौं— कारागारमा थुनामा रहेका १ सय ७९ जना कैदीहरूलाई प्यारोलमा राख्ने निर्णय गरिएको छ। संघीय प्यारोल बोर्डको बैठकले १७९ जनालाई प्यारोलमा राख्ने निर्णय सिफारिस गरिएको महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए।
संघीय प्यारोल बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभाग हुँदै सम्बन्धित जिल्ला अदालतमा पेस गर्नुपर्छ। सो निर्णय जिल्ला अदालतबाट सदर भएपछि कैदीहरू जेलको चौघेराबाट निस्केर प्यारोलमा बस्न पाउँछन्।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–०७४ अनुसार सरकारले यसअघि पाँच चरणमा ६३५ जनालाई थुनाबाहिर राख्ने निर्णयसहितको सिफारिस गरेको थियो। सो निर्णय अदालतबाट सदर भएको महान्यायाधिवक्ता बडालले बताए। प्यारोल बोर्डले गरेको अहिले छैटौँ चरणको निर्णय सिफारिस हो।
असल चालचलन भएका कैदीलाई मात्र प्यारोलमा राख्ने निर्णय गरिन्छ। यसअघिको निर्णयबाट प्यारोलमा बसेका मध्ये एक जनाले मात्र जिल्ला क्रस गरेर आफैँले प्यारोल अधिकृतलाई जानकारी गराएको महान्यायाधिवक्ता बडालले बताए। उनले भने, ‘प्यारोल एकदमै प्रभावकारी देखिएको छ।’
सामाजिक पुनर्स्थापना र पारिवारिक पुनर्स्थापनाका लागी प्रयोग गरिएको टुल्स हो–‘प्यारोल र प्रोवेशन’।
प्यारोल प्रोवेशनमा बस्ने कैदीबन्दीले दुईतिहाइ सजाय जेलभित्र नै भुक्तान गरिसक्नुपर्छ। दुई तिहाइ सजाय भुक्तान गरेका र चालचलन असल भएकाहरूलाई जेलरको सिफारिसका आधारमा महान्यायाधिवक्ता नेतृत्वको प्यारोल बोर्डले घरमा बसेर कैद भुक्तान गर्ने सुविधा दिनेगरी निर्णय गर्नसक्ने कानुनी व्यवस्था छ। प्यारोल बोर्डको निर्णयलाई अदालतले सदर गर्नुपर्छ।
अदालतबाट १ वर्षभन्दा धेरै कैद सजायको फैसला भएका र त्यसमध्ये दुई तिहाइ भुक्तान गरेकाहरूले घरमा बसेर कैद भुक्तान गर्न पाउँछन्। सो सुविधालाई ‘प्यरोल र प्रोवेशन’ भनिन्छ। प्यारोल सम्बन्धी निर्णय गर्ने समितिमा कारागार व्यवस्थापन विभागका महानिर्देशक सदस्यसचिव हुन्छन्। प्रहरी महानिरीक्षक, गृह मन्त्रालयका सचिव, कानुन सचिव, एकजना मनोचिकित्सक र दण्डशास्त्री प्यारोल बोर्डमा सदस्य हुन्छन्।
प्यारोल सुविधा लिने कैदीहरूले सरकारले तयार गरेको मापदण्ड र सर्तमा बस्नुपर्छ। मापदण्ड अनुसार आफ्नो जिल्ला भन्दा बाहिर कैदीबन्दी जान पाउँदैनन्। प्यारोल सुविधा लिँदा गैह्रकानुनी काम गर्न मिल्दैन र उनीहरू प्यारोल अधिकृतकहाँ तारेखमा बस्नुपर्छ। मन्त्रिपरिषद्को निर्णय अनुसार ७७ वटै जिल्लाका जेलरलाई प्यारोल अधिकृत तोकिएको छ। प्यारोलमा बस्ने कैदीबन्दीहरुले आय आर्जनको काम गर्न पाउँछन्।
कुनकुन अपराध गर्नेलाई प्यारोल सुविधा हुँदैन
१० प्रकारका अपराधमा संलग्न कैदीहरूले प्यारोलमा बस्ने सुविधा पाउँदैनन्। जन्मकैदको सजाय पाएका, भ्रष्टाचारको कसूरमा सजाय पाएका, जबरजस्ती करणी, तेजाब आक्रमण, मानव बेचविखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र यातना तथा क्रुर अमानवीय व्यवहारमा सजाय पाएका कैदीहरूले प्यारोलमा बस्न पाउँदैनन्।
राज्यविरुद्धको अपराध र मानवता विरुद्धको अपराध सम्बन्धी कसुरमा सजाय पाएकाहरूले पनि प्यारोल सुविधा पाउँदैनन्।