News Griha :: न्यूजगृह
इजरायली आक्रमणबाट लेबनानमा एकै दिन ४९२ जना मारिए, १६ सय घाइते

काठमाडौं— इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ४९२ जना मारिएका छन्। आक्रमणमा १६ सय ४५ बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन्। इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने यकिन भएको छैन।

इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। ‘हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए,’ उनले भनेका छन्। उनले इजरायली सेनाले बेका उपत्यका क्षेत्रमा रहेका हेजबुल्लाहका सैन्य केन्द्रमा छिट्टै आक्रमण गर्ने बताएका छन्।

इजरायलले गत असोज २० मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक आक्रमण गरेको हो। प्यालेस्टाइनी समूह हमासले गत वर्ष उत्तरी इजरायलमा गरेको आक्रमणमा कम्तीमा १२ सय जनाको ज्यान गएको थियो। त्यसका साथै हमासले २ सय ५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो। त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टाइनीको ज्यान गइसकेको छ। इजरायलले हमासविरुद्धको आक्रमण तीव्र पारेसँगै हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेको थियो। जसका कारण इजरायलले हेजबुल्लाह लक्षित आक्रमण सुरु गरेको हो।

गत साता हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गएको थियो। ती घटनामा ३ हजार ५ सयभन्दा बढी घाइते भएका थिए। हेजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो। तर इजरायलले भने त्यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन। त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर इब्राहिम अकिलको ज्यान गएको थियो।

हेजबुल्लाह सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायतामा स्थापना भएको लेबनानस्थित सिया मुस्लिम समूह हो। जसका कारण दुई पक्षबीच पटक–पटक युद्ध भइरहन्छ । १९८० को दशकमा गृहयद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो। तर हेजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेपछि २००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भयो।

इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो। तर त्यसलाई बेवास्ता गर्दै समूहले आफ्नो सैनिक संगठन ‘इस्लामिक रेसिस्टन्स’ लाई थप सुदृढ पार्दै गयो। हेजबुल्लाहलाई अमेरिकालगायत पश्चिमा देशहरू, इजरायल, खाडी–अरब देश तथा अरब लिगले आतंकवादी घोषित गरेका छन्।

दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको हेजबुल्लाहले विवादित सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको छ। हेजबुल्लाहले पछिल्लो समय अमेरिका र इजरायल लक्षित आक्रमणलाई तीव्रता दिँदै आएको छ।

२००६ मा ८ इजरायली सैनिकको हत्या गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि क्रुद्ध इजरायलले हेजबुल्लाहलाई समाप्त पार्ने भन्दै लेबनानमा भीषण आक्रमण गरेको थियो। ३४ दिनसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय र इजरायलमा ११९ सैनिक तथा ४५ सर्वसाधारण मारिएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:२६
Weather Update