
धनुषा— जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन्। आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए। जसमध्ये सत्यम् झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो।
भागका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय बिक्की कार्की रहेका छन्।
लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन्।
उनीहरुको खोजी भइरहेको डीएसपी अवाले बताए।