News Griha :: न्यूजगृह
जुवा खेलिरहेका ७ जना काठमाडौंबाट पक्राउ, पक्राउ पर्नेमा नेपाल, भारत र चीनका नागरिक

काठमाडौं— काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित ७ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा जुवा खेलाउने मुख्य चिनियाँ नागरिकसहित ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चीनको आम्दो घर भई बौद्ध बस्दै आएका २४ वर्षीया सोनाम तामाङ, भारत घर भई  बौद्ध बस्ने जाम्पा खेदुप, चीन घर भई काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीन घर भई बौद्ध बस्ने २७ को दासाङ, चीन घर भई काठमाडौं महानगरपालिका–२७  बस्ने ४५ वर्षीय विई चुनलिन, बौद्ध बस्ने २८ को तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ३५ को लोप्साङ लामा पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। बौद्धस्थित पुष्षाल लामाको घरको दोस्रो सोनम तामाङले सञ्चालन गरेको गेम जोनमा खेल खेलाउने गरेको सुचना मिलेको थियो।

सूचनाको आधारमा गेम खेलिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचर्यले बताए।

'जुवा खेलाउने उपकरणसहित नियन्त्रणमा लिइएका छौं,' उनले भने, 'कारबाहीका लागि जिल्ला परिसर भद्रकाली काठमाडौं पठाएका छौं।' 

जुवाखेलाइरहेको ठाउँबाट फिस सर्ट गेम खेल्ने उपकरण १ थान र १२ लाख एक हजार नगद बरामद गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:०१
Weather Update