काठमाडौं— श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ।
अहिलेसम्म प्राप्त नतिजा अनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायकले ३०.६ प्रतिशत मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन्। त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २६.६ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १३.५ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
पहिलो प्राथमिकताको मत गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि अब दोस्रो प्राथमिकताको मत गणना हुने भएको छ।
डेली मिररका अनुसार श्रीलङ्काको निर्वाचन आयोगले दोस्रो प्राथमिकताको मत गणना गर्न निर्देशन दिएको उल्लेख गरेको छ।
पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। श्रीलङ्कामा मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ। शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ। सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ।
तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ।
सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो। त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थि । शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
श्रीलङ्कामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ।