काठमाडौं— लोक सेवामा सबैभन्दा बढी आकर्षण सर्लाही जिल्लाबाट देखिएको छ। लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी फारम सर्लाहीबाट भरेको उल्लेख छ।
आयोगले आर्थिक वर्षको ६५ औँ वार्षिक प्रतिवेदन गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आयोगले सम्पादन भएका मुख्यमुख्य कार्यहरू सार्वजनिक गरिसकेको छ।
उक्त प्रतिवेदनमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ७३ हजार ४ सय ९० दरखास्त प्राप्त भएको उल्लेख छ।
यस अवधिमा मुलुकका सबै जिल्लाबाट दरखास्त परेको छ। सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लाहरू छन्। जसमध्ये सर्लाही (१८,३२८), धनुषा (१६,६७३), सप्तरी (१६,५१४), महोत्तरी (१५,८३५) र बारा (१५,४२३) रहेको प्रतिवेदनमा उल्लेख छ।
उक्त पाँच जिल्लाबाट कुल ८२ हजार ७ सय ७३ (१७.४८ प्रतिशत) दरखास्त परेका छन्। त्यस्तै सबैभन्दा न्यून दरखास्त ५ जिल्लाहरू क्रमशः मनाङ (१०) मुस्ताङ (४९), रसुवा (४५८), रुकुम पूर्व (७३९) र डोल्पा (१,०२४) रहेका प्रतिवेदनमा उल्लेख छ।
तर, सर्लाहीबाट बढी आवेदन परे पनि सिफारिस भने गुल्मीका परेका छन्। प्रतिवेदनअनुसार आवको अवधिमा निजामती सेवातर्फ कुल २ हजार ६ सय ८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा महिला ७ सय ४४ र पुरुष १ हजार ९ सय ४४ जना रहेका छन्।
सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा क्रमशः गुल्मी (१०४), स्याङजा (१०२), सर्लाही (९१),धनुषा (७८) र कञ्चनपुर (७३) रहेका छन्। रसुवा जिल्लाबाट १ जना मात्र उम्मेदवार सिफारिस भएको प्रतिवेदनमा उल्लेख छ।