
मकवानपुर— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रदेशसभा सञ्चालन गर्ने उद्देश्य अनुरूप मुख्यमन्त्री लामाले प्रदेशसभा बैठक आह्वान गरेका हुन्।
मुख्यमन्त्री लामाले आइतबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक मुख्यमन्त्री लामाको सरकारी निवासमा बस्नेछ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलले अवरोध गर्ने सङ्केत दिएपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शनिबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विगतको सहमति र हालको अवस्था तथा सरकारका गतिविधि उपर उचित धारणा सरकारको प्राप्त नभएसम्म संसद् बैठक चल्न नसक्ने बताएको थियो।
सो लगत्तै मुख्यमन्त्री लामाले सर्वदलीय बैठक आह्वान गरेको सत्तापक्षका मुख्य सचेतक गोविन्द लम्सालले बताए। मुख्यमन्त्री लामाले दलका नेताहरूलाई छलफलका लागि बोलाएको उनको भनाई छ। उक्त छलफलको सहमति पछि प्रदेशसभा बैठक सञ्चालन हुने उनले विश्वास व्यक्त गरे।
माओवादी केन्द्रले बजेट कार्यान्वयन, बजेट माथिको दलहरू बिचको सहमति, कर्मचारी सरुवा बढुवा, विपद् व्यवस्थापन र सरकारको कामकाजका विषयमा मुख्यमन्त्रीको उचित धारणा माग गरेको छ। बजेट माथि चलखेल गर्ने रणनीति अनुरूप सरकारले बजेट कार्यान्वयनमा विभागीय कार्यालयको प्रमुखलाई रोक लगाएको र उक्त विषयमा सरकारले सबै दलहरूसँग समझदारी गरेर अघि बढ्न माओवादी केन्द्रले माग गरेको छ।
सरकारले संसद् बैठक अगावै उक्त विषयमा सहमति गरेको खण्डमा मात्र बैठक चल्ने अन्यथा बैठक चल्न नसक्ने माओवादीको भनाई छ।
आइतबार बस्ने प्रदेशसभा बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ।