
काठमाडौं— नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गरेका छन्।
माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौँ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल भएको टिप्पणी गरे।
‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्यो,’ अध्यक्ष दाहालले भने, ‘त्यस्तै आफैँले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारबिना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्यो।’
उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिसमेतको बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्नेगरी हटाउनका लागि हस्ताक्षर गरिएको उल्लेख गर्दै उनले भने, ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरू पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसद्लाई ढाँटेको पनि देखियो।’
भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए।
आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्दै उनले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताए।
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरू खुशी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले ऊर्जा थपेको बताए।