News Griha :: न्यूजगृह
कोरला नाकामा अध्यागमन कार्यालय खोल्ने तयारी, पुर्‍याइयो विद्युत् र टेलिफोन 
नेपाल र चीनको सीमाना कोरलामा दुई देशका प्रहरी। फाइल तस्बिर।

म्याग्दी — उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा दसैँ अघिनै अध्यागमन कार्यालय सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ। हालै नाकासम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् र नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्‍याइएको छ।

यकिन मिति तय नभएपनि दसैँअघि नै कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन गर्ने गरी काम भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुने गरी प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भइसकेको छ।

सोही भवनमा केन्द्रीय विद्युतिकरण गरिएको हो। भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो। त्यसैगरी यही हप्ताभित्र नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल सेवा पनि सञ्चालनमा आउने मुस्ताङ प्रशासनले जनाएको छ।

‘कोरला नाकामा अध्यागमन कार्यालय खोल्न तयारी अन्तिम चरणमा छ । अध्यागमन कार्यालय भवनमा विद्युतिकरण भइसक्यो, इन्टरनेटसहित सञ्चार सुविधाका लागि भवनमा इन्टरनेट वायरिङ गर्ने काम भइरहेको छ, उपकरणहरू सेट अप गर्ने काम चलिरहेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने।

उनका अनुसार कोरलामा अध्यागमन कार्यालय खोल्ने तयारी करिव पूरा भएको छ। कार्यालय स्थापना गरी सञ्चालन गर्ने विषयमा गृह मन्त्री रमेश लेखकको समय व्यवस्थापनका लागि कुरा भइरहेको र तुरुन्तै कार्यालय स्थापना गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी नर्वु गुरुङका अनुसार कोरला नाकामा इन्टरनेट सहित नेपाली सञ्चार सुविधा पुर्‍याउन टेलिकम बाग्लुङबाट गएको टोलीले लोमन्थाङ गाउँपालिका–१ छोसेरको माथि नेचुङ डाँडामा टावर स्थापना गरेको छ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दसगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डीपीआर) बनाएको थियो। सोही डीपीआर कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा विद्युत र सञ्चार सुविधा पुर्‍याइएको हो।

चीनियाँ पक्षले भने दसगजा छोडेर आधुनिक सूचना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पाकिङ र सुरक्षा प्रबन्ध लगाएतका पूर्वाधार खडा गरिसकेको छ।

नेपाल–चीनबीच २०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुला भए पनि कोरोला नाकामा अहिले सन् १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ।

नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन्। गण्डकी प्रदेशको लाइफलाइन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भइरहेको छ। अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:००
Weather Update